बुध, मंसिर १२, २०८१
Wed, November 27, 2024

कान्छीको अल्लारे जोवन’को रिमेक भर्सन

काठमाडौँ — गायक विधान श्रेष्ठले पुरानो गीत 'कान्छीको अल्लारे जोवन'को रिमेक भर्सन सार्वजनिक गरेका छन् । स्वर्गीय ध्रुव बस्नेतद्वारा संकलित गीतलाई 'ओल्ड दरबार रिवाइन्ड सिरिज'का लागि श्रेष्ठले गाएका हुन् ।

सिरजमा ८०, ९० को दशकदेखि २००० को क्लासिक पप र रक संगीतलाई नयाँ अरेन्जसहित दर्शकबीच ल्याउने जमर्को भइरहेको छ । आशिष स्याङ्देनले यो सिरिजमा विधानलाई गाउन लगाएका हुन् ।

‘पुरानै संगीतको मर्म नमर्ने गरी मैले गीतलाई उही पूरानै शैलीमा गाएको छु । तर, गीतमा नयाँ एरेन्ज छ,’विधानले भने । मनोजकुमार केसी र मञ्जिल विक्रम केसीले यो भर्सनको एरेन्ज गरेका हुन् । भिडियोको निर्देशन भने पावेल उदासले गरेका हुन् । विसं २०५३ मा रेकर्ड भएको गीतको भिडियो भूषण दाहालले निर्देशन गरेका थिए । २०५४ को वैशाखमा यो गीत बजारमा आएसँगै चर्चा बटुलेको थियो ।

यो गीतलाई दुई पटक रेकर्डिङ गरिएको विधान सम्झन्छन् । ‘न्यू प्लाजामा रहेको रेकर्डिङ स्टूडियोमा गीतको रेकर्डिङ गरेका थियौं । त्यतिबेला जाडोको समय थियो । पहिलो रेकर्डिङ राम्रो नभएपछि दोस्रो दिन गायौं । भूषण दाहाल आएर गीतको रेकर्डिङ सुन्नु भएको याद छ,’उनले भने । त्यतिबेला देउसी/भैलोमासमेत यो गीत गाइने गरेको विधानको सम्झना छ । कालिम्पोङतिरको यो गीतमा ध्रुवले शब्द भरिसकेपछि विधानले गीत गाउन पाएका थिए ।

प्रतिक्रिया दिनुहाेस् :-

याे पनि पढ्नुहाेस् :-