मङ्ल, मंसिर ४, २०८१
Tue, November 19, 2024

बेवास्ताको मारमा बालबालिका

बालबालिकाको भविष्य कस्तो बनाउने भन्ने कुरा बाल्यावस्थामा उनीहरूले पाएको वातावरणले निर्धारण गर्छ । उनीहरूको उज्ज्वल भविष्यका लागि सामाजिकीकरण प्रक्रिया र स्वस्थकर जीवनशैलीमा परिवारले विशेष ध्यान दिनुपर्छ ।

जन्म दिने तर जन्मिनेको जीवनको बारेमा परवाह गर्ने अभिभावकका बालबालिका विभिन्न जोखिममा परिरहेका छन् । हुँदा खाने परिवारमा मात्र होइन हुने खाने परिवारमा पनि यो समस्या देखिन्छ । भनिन्छ– मानिसको पहिलो पाठशाला घर हो । तर परिवारको व्यस्तता र बेवास्ताको कारण बालबालिकाले अभिभावकबाट उचित संरक्षण, सुरक्षा र स्याहार प्राप्त गर्न सकिरहेका छैनन् ।

वैदेशिक रोजगारीमा जाने परिपाटी बढ्दो छ । परिवारमा श्रीमान् मात्र नभई श्रीमतीसमेत ससाना छोराछोरीलाई अरूको जिम्मा लगाएर विदेशिँदा बालबालिकाको पालनपोषण र स्याहारसुसारमा मात्र होइन सामाजिकीकरणमा ठूलो असर परिरहेको छ । यस्ता बालबालिकामा सामाजिक भावको अभाव देखिन्छ भने परिस्थितिजन्य व्यवहार गर्न सिकिरहेका हुँदैनन् । स्वदेशमै भए पनि पेसा/व्यवसायमा व्यस्त बाबुआमाका छोराछोरीले अभिभावकसँग बिताउन पर्याप्त समय पाइरहेका छैनन् ।

परिवारको एकल संरचनाले पनि त्यस्ता बालबालिकालाई हजुरबुबा, हजुरआमा साथै अन्य सदस्यको समेत हेरविचार, माया र स्नेहबाट अलग गराइरहेको छ । बालबालिकाले समय व्यवस्थापन कसरी गरिरहेका छन्, साथीसंगत, अध्ययन, बानीव्यवहार कस्तो छ भन्नेमा अभिभावकले राम्रोसँग ध्यान दिन सकिरहेका छैनन् । यसरी अभिभावकीय छत्रछायाबाट विमुख बालबालिका नै मदिराजन्य, सुर्तीजन्य तथा विभिन्न कुलतमा फस्ने, बालविवाह गर्ने साथै बेचबिखन र यौनजन्य दुर्व्यवहारलगायतका जोखिममा पर्न सक्ने सम्भावना हुन्छ ।

बालबालिकालाई खाना खुवाउने र सुताउने बेला गीत, कविता, श्लोक, कथा, लोरी, चुट्किला सुनाउने परिपाटीमा परिवर्तन हुँदै गइरहेको छ । रुँदा होस् वा खाना खुवाउँदा, झगडा गर्दा फकाउन वा बिदाको समय कटाउन अभिभावकले मोबाइल, ट्याब दिने गर्छन् । यसले बालबलिकालाई एकोहोरो बनाएको छ । सामाजिक संस्कार, पारिवारिक रहनसहन, धर्म तथा संस्कृतिमा घुलनशील हुनेभन्दा पनि बाहिरी विषयवस्तुमा रमाइरहने परिवेशको सिर्जना गरेको छ । जसका कारण कतिपय बालबालिकामा भर्चुअल अटिजमसमेत देखा पर्न थालिसकेको छ ।

बाबुआमा वा परिवारका सदस्यबीच रहने सद्भाव, सम्मान, एकअर्काले गर्ने व्यवहार, हाउभाउ, चालचलनको प्रत्यक्ष असर बालबालिकामा पर्छ । कतिपयले बालबालिकाको सिकाइलाई बेवास्ता गरेर उनीहरूकै अगाडि झगडा गर्ने, मादक पदार्थ सेवन गरी गालीगलौज गर्ने, रिसाउने, अपशब्द बोल्ने गर्दा पनि बाल मस्तिष्कमा नराम्रो प्रभाव पर्छ । यस्तो परिवेशमा हुर्किएका बालबालिका हिंस्रक हुने, कुलतमा लाग्ने, आदर, सम्मान गर्न नजान्ने, झर्किने तथा अवाञ्छित गतिविधिमा संलग्न हुने गर्छन् । कतिपयमा मानसिक तथा मनोसामाजिक समस्या देखापर्न सक्छ ।

विपन्न परिवारमा बालबालिकालाई कमाउने साधनका रूपमा लिने गरिएको छ । उनीहरूको भविष्यको बेवास्ता गर्दै जीविकोपार्जनमा योगदानको अपेक्षा गर्दा पढाइमा अवरोध हुने गरेको छ । परिवारबाटै बेवास्तामा परेकाहरू बाटो तथा धार्मिक स्थलमा माग्न, होटल, ग्यारेज, पसल, उद्योगमा कामदारका रूपमा रहन बाध्य छन् । यी लगायतका जोखिमपूर्ण काममा रहँदा उनीहरू हिंसा, शारीरिक, मानसिक यातना तथा दुर्व्यवहारमा परिरहेका हुन्छन् । उनीलाई पटकपटक उद्धार तथा पुनःस्थापना गर्दा पनि परिवारलाई जिम्मेवार बनाउन सकिएको छैन ।

विगतमा अधिकांश मागी विवाह बालविवाह हुन्थे । अहिले अभिभावकले नचाहँदा पनि धेरैजसो बालविवाह भागी विवाह हुने गरेका छन् । बालविवाह कानुनले बर्जित गरे पनि सामाजिक दायित्वको मुद्दा बन्न सकिरहेको छैन । परिवार, आफन्त र समुदायको मौन समर्थनले बालविवाहले निरन्तरता पाइरहेको छ । इज्जत, प्रतिष्ठा र मानसम्मानसँग जोडेर बाल भविष्यलाई जोखिममा पर्न दिने र बेवास्ता गर्ने प्रचलनले समस्याको शृंखलामा जोडिन पुगेका छन् बालबालिका । अभिभावकले सम्बन्धविच्छेद गर्दा पनि बालबालिका उचित हेरचाह र संरक्षणमा हुर्किन पाएका छैनन् । अभिभावकविहीन बालबालिकालाई परिवार वा आफन्तको संरक्षकत्वमा हुर्काउन पहल गर्नुपर्नेमा बालगृहमा लैजाने परिवेशको सिर्जना हुँदा बालबालिकाले व्यावहारिक शिक्षा प्राप्त गर्न सकेका हुँदैनन् ।

सुविधाभोगी र निष्क्रिय जीवनशैली बढ्दै गएको छ । घरमा उपभोग गर्ने खानेकुरा मात्र होइन छोराछोरीलाई विद्यालयमा समेत पत्रु खाजा पठाउने गरिएको छ । यतिसम्म कि परिवार सबै मिलेर घरमा खाना पकाएर खाने चलन हराउँदै गयो । होटल तथा रेस्टुरेन्टमा गएर वा घरमै मगाएर खाने रमाउने बानीको विकास भएको छ । यसले बालबालिकाको क्रियाशीलता, सामञ्जस्य, अनुभव र सिकाइमा प्रत्यक्ष प्रभाव पार्नुका साथै स्वास्थ्यमा नकारात्मक असर परेको छ ।

बालबालिकाको भविष्य कस्तो बनाउने भन्ने कुरा बाल्यावस्थामा उनीहरूले पाएको वातावरणले निर्धारण गर्छ । उनीहरूको उज्ज्वल भविष्यका लागि सामाजिकीकरण प्रक्रिया र स्वस्थकर जीवनशैलीमा परिवारले विशेष ध्यान दिनुपर्छ । छोराछोरीलाई साधन स्रोत उपलब्ध गराउँदा हुने उपयोग र दुरुपयोग तथा त्यसले गर्ने असर सम्बन्धमा अभिभावक सचेत हुनुपर्छ । सबैभन्दा नजिकको संरक्षक परिवार भएकाले छोराछोरीप्रति समस्या निम्तिएपछि उपचारको खोजीभन्दा जोखिम आकलन गरी सोहीबमोजिम सुरक्षा, सावधानी अपनाउँदै विशेष हेरचाह र संरक्षणको उचित व्यवस्था मिलाउनु जरुरी देखिन्छ ।

प्रतिक्रिया दिनुहाेस् :-

याे पनि पढ्नुहाेस् :-