मूर्तिकारका हातहरू ग्राहकका मागअनुसार दिनभर ढुंगालाई आकार दिन नाचिरहेका हुन्छन् । दशैँ, तिहार, क्रिसमस, बुद्ध जयन्ती लगायत विभिन्न चाडपर्वमा भगवानको माग राम्रै हुन्छ । भगवान् रिसाएको, हाँसेको, ध्यानमा बसेको, नाचेको अनेक प्रकारका मूर्तिहरू यस घरमा बन्छन् । देशभरका धेरै मूर्ति यसै घरभित्र बनेका हुन् । यहाँ बनेका मूर्तिहरु कति मन्दिरमा पुजिएका छन् त कति बैठक कक्ष वा पूजा कक्षमा सजिएका छन् । कति त्यसै बेवारिसे अवस्थामा फालिएका छन् ।
कारखानाभित्र छिनो वा हथौडाको टक टक टक आवाज, कारखाना तल नदीको कलकल— यही नै यस परिवेशको सौन्दर्य हो । यस घरको रूप हेर्दा सामान्य छ— मैलाधैला मजदुरले भरिएको; जताततै ढुंगाका धुलो छरिएको । तर यहाँ काम गर्ने कालिगडहरू असामान्य छन् । उनीहरूका कालामैला हातमा जादु गर्छन्, अर्थात् ढुंगालाई भगवान बनाइदिन्छन् । अन्य ठाउँमा बनेकाभन्दा यस भगवान् घरमा बनेका मूर्ति हजार गुणा राम्रा र विशेष मानिन्छ । यहाँ बनेका मूर्तिको आकार–प्रकार, रूप–रङ आदिको जति तारिफ गरे पनि कमै हुन्छ । यहाँको अर्को रोचक कुरा पनि थियो । मूर्तिकारहरू सबै नास्तिक थिए तर भगवान अनुसारका विशेषज्ञ भने थिए । शिव विज्ञ, गणेश विज्ञ, राम, हनुमान, बुद्ध, जिजस इत्यादि विज्ञ ।
यिनै धेरै विशेषज्ञमध्ये सबैभन्दा कान्छा विशेषज्ञ थिए, सूर्यकुमार । २१औँ वसन्तमा हिँड्दै गरेका उनले भर्खरै बिहे गरेका थिए, कुनै धनीकी छोरीलाई भगाएर । भगवान् घरमा सहायक भएर काम सुरु गर्दा उनको जिम्मेवारी थियो— विशेषज्ञहरूलाई सघाउने, मूर्ति सफा गर्ने, प्याक गर्ने, रङ्ग भर्ने, फोन उठाउने इत्यादि । क्रमशः उनले मूर्ति बनाउन सिके । उनले बनाएका मूर्ति ठिकै देखिन्थे तर कसैले उनलाई मूर्ति बनाएकै आधारमा चिनेका भने थिएनन् । जब सूर्यकुमारले शिव र बुद्धको मूर्ति बनाउन सुरु गरे । त्यसपछि उनले पछाडि फर्कनुपरेन । बजारले नै उनलाई खोज्न थाल्यो । मान्छेहरू भन्थे— उनले बनाएको शिव र बुद्धको मूर्तिमा बेग्लै सौन्दर्य हुन्छ । हुन पनि त्यो मूर्तिको आकार, बुट्टा साह्रै राम्रा हुन्थे; हेर्दै बोल्लान् जस्ता ।
मूर्तिकै कारण बजारमा सूर्यकुमार शिव र बुद्ध विशेषज्ञका रूपमा कहलिएका थिए । बजारमा ठूलो हल्ला थियोे— सूर्यकुमारबाहेक अरु कसैलाई शिव र बुद्ध बनाउने अधिकार छैन । जसकारण देशबाट मात्रै नभई भारतीय धार्मिक सहर अमरनाथ, सोमनाथ, बद्री केदारनाथबाट उनीकहाँ मूर्ति किन्ने ग्राहक आउँथे, अर्डर गर्थे ।
दिनरात नभनी कुनै ढुंगालाई दुई पैतालाले च्यापेर, छिनोलाई घनले ठोक्दै भगवानको आकार दिन उनी तल्लीन हुन्थे । उनको व्यस्तताले यता घरमा केही असर पारेको भने थिएन । श्रीमतीले बुझेकी थिइन्, काम नगरी खान पाइँदैन । यी दुईबिच प्रेम पनि औधि थियो । हरेक दिउँसो उनी खाजा बोकेर आउँथिन् ।
सूर्यकुमार डेरा गरी बसेको कोठा र भगवान बनाउने घरको दूरी त्यस्तै सत्र मिनेटको पैदल दूरीमा थियो, बिस्तारै हिँड्दा २०–२२ मिनेट लाग्थ्यो । सधैँ उनी रातको १० नबजी घर जाँदैनथे । कहिलेकाहीँ श्रीमतीले घर आउने बेला भएन भनी फोन गर्थिन् । त्यसपछि बल्ल घर हिँड्थे ।
एक औँशीको रातमा उनी १० बजेतिर घरतिर हिँडे । घर फर्कंदा उनी सधैँ थाकेर लखतरान हुन्थे, यस रात भने उनीमा बेग्लै स्फूर्ति थियो । कतै उड्न सक्छु कि जस्तो उनलाई लागेको थियो ।
घर फर्कंदा प्रायः उनको हातमा मिनिरल वाटर वा कोक–पेप्सीको बोतल हुन्थ्यो । कानमा एयरफोन टुट्दैनथ्यो, मोबाइलमा राखेका गीत सुन्दै हिँड्न उनलाई बानी लागेको थियो । औँसीको रात भए पनि सडकछेउका बत्तीले बाटो उज्यालै थियो ।
कोठा नपुग्दै नथनी चोकमा उनको जम्काभेट शिवजीसँग भयो । उनले जस्तो शिवको मूर्ति बनाउथे, दुरुस्तै त्यस्तै व्यक्ति अगाडि प्रकट भएका थिए— जटाधारी कपाल, शरीरभरि खरानी, घाँटीमा सर्पको माला, अग्लो कद… । सूर्यकुमार झसङ्ग भए, उनको हातबाट पानीको बोतल झर्यो ।
भगवानहरूका मूर्ति बनाउने पेसा अपनाए पनि कुनै धर्म र देवताप्रति उनको आस्था थिएन । यद्यपि मान्छेहरूले मान्दै आएको भगवान अचानक अगाडि देखेपछि उनले हात जोड्दै भने— प्रभु ! यहाँ कसरी ?
आफ्नै मूर्तिजस्तै देखिने ती व्यक्तिले गोजीबाट चुरोट निकाल्दै सोध्छन्— ब्रो सलाई छ ?
सूर्यकुमारले गोजीबाट लाइटर निकालेर दिए । चुरोट सल्काएर ती व्यक्ति आफ्नो बाटो लागे, लाइटर फिर्तै नगरी । सूर्यकुमार हेरेको हेर्यै भए ।
एकछिनपछि एक हुल मानिसहरू आउँछन् । उनीहरूले नाटकको बारेमा कुरा गरिरहेका थिए । सूर्यकुमारले थाहा पाए— भर्खरै गएको शिव भेषधारी व्यक्ति कलाकार रहेछन् ।
आमाले भनिन्, ‘मलाई यहीँ चारधामजस्तो छ छोरा ! देवीजस्ती बुहारी छन् । बरु तिमीहरू अहिले कर्म गर । तिमीहरूले पनि एउटा घर बनाउने सपना देखेका छौ । मलाई चारधाम होइन, तिमीहरूको एउटा घर र नातिनातिना देखेर मर्ने मन छ ।’
निकै अबेर भइसकेको थियो । उसको मोबाइल बज्यो, श्रीमतीको कल रहेछ । एकैचोटि उताबाट आवाज आयो— किन ढिलो, कता हुनुहुन्छ ?
‘आइपुग्नै लागेँ, खाना तताउँदै गर’ भनेर उसले फोन राखे । उनका पाइला एउटा कालो रङले पोतिएको घरनेर गएर रोकिए, जहाँबाट उनको घरमा पुग्न ठ्याक्कै सात मिनेट लाग्थ्यो । उनले प्रायः कोक वा पानीको बोतल यही घरको बाहिर नगरपालिकाले राखेको डस्टबिनमा फाल्थे । बोतल फालिसकेपछि एकछिन वरपर नजर डुलाउँथे । घरमा के कालो रङ लगाएको होला भनी गम्थे । त्यस रात डस्टबिनमा फाल्न उनको हातमा बोतल थिएन, अघि भगवान् भेषधारी कलाकारलाई देख्दा झस्केर खसेको बोतल उनले टिप्नै बिर्सेका थिए । यस घरमा आज उनले अलि चर्को आवाज सुने । ‘भोलि कोठा खाली गर्नू । तिमी तल्लो जात भन्ने थाहा भएन, नत्र सुरुमै कोठा दिन्नथेँ,’ घरबेटी पुरुषका यी शब्द स्पष्ट सूर्यकुमारका कानमा ठोकिए ।
त्यसपछि महिलाको स्वर सुनिन्छ, ‘यस्तो नभन्नू, भोलि नै हामी कहाँ जाने ! सानो बच्चा छ । एक–दुई महिना बस्न दिनू, मेरो श्रीमान विदेशमा हुनुहुन्छ । उहाँ आएपछि सरौँला, बसी त हालेँ ।’
‘हुँदैन । भोलि गएनौ भने सामान बाहिर फालिदिन्छु । तिमीहरूलाई राखेदेखि हाम्रा कुलदेवता रिसाउन थालेका छन् । मेरी आमा बिरामी परिसक्नुभो… ।’
यस्तै शब्दहरू सुन्दै सूर्यकुमार आफ्नो डेरातिर लम्कन्छन् । आफ्नो डेरानजिकै फुटपाथमा उनले एउटा कालो पोको देखे । एउटी वृद्धा जाडोले एउटै पोको परेर थुर्थुर कामिरहेकी थिइन् । उनले सोधपुछ गरेपछि ती आमाले पनि मनका कुरा पोखिन् । ती आमालाई उनका छोराले वृद्धाश्रममा राखेका रहेछन् । वृद्धाश्रमबाट विरक्तिएर उनी सुटुक्क शिव मन्दिरको दर्शनका लागि निस्केकी रहिछन् । बाटो भुलेर हराइछन् । छोराबुहारीले साथमा नराखेकाले उनको मन दुखेको रहेछ । उनी रुन थालिन्— हिजो कति दुःखले हुर्काको छोराले आज मलाई वास्ता गर्दैन । आमाको मुख हेर्ने दिन एकपटक भेट्न आउँछ र फोटो खिच्छ । मेरा लोग्नेले बनाएको कत्रो ठूलो घर छ, उनी बितेको पनि वर्षौं भयो । उनी बितेको केही वर्षदेखि वृद्धाश्रममा बस्न थालेकी हुँ ।
सूर्यकुमारलाई पत्नीका लागि डेरामा कोही साथी चाहिएको थियो । उनले ती आमालाई आफ्नो अवस्था बताए र भने— मेरो डेरामा जानुहुन्छ त ?
ती आमाले सोचिन्— यो बुढेसकालमा चार धाम घुम्ने मन छ । यहाँ सडकमा चिसोले मर्नुभन्दा त यही छोराको डेरामा जान्छु ।
उनीहरू डेरातिर लागे । घरमा उनकी पत्नी पनि खुसी भइन् । रहँदा–बस्दा निकै दिन बिते । केही मूर्ति बेचेर सूर्यकुमार अलि सुविधाले फ्ल्याटमा बस्न थालेका थिए । उनकी पत्नीले एउटा किरानापसल चलाउन थालेकी थिइन् ।
एक दिन सूर्यकुमारले आमालाई भने, ‘आमा, हजुरको चारधाम घुम्ने मन छ होइन ? आज हामी छोरा–बुहारीले निर्णय गर्यौँ— हामी तीनैजना चारधाम जाऊँ । नघुमेको पनि धेरै भयो ।’
आमाले भनिन्, ‘मलाई यहीँ चारधामजस्तो छ छोरा ! देवीजस्ती बुहारी छन् । बरु तिमीहरू अहिले कर्म गर । तिमीहरूले पनि एउटा घर बनाउने सपना देखेका छौ । मलाई चारधाम होइन, तिमीहरूको एउटा घर र नातिनातिना देखेर मर्ने मन छ ।’