मङ्ल, मंसिर ४, २०८१
Tue, November 19, 2024

डुडुवामा औलोको घरधुरी सर्वेक्षण

खजुरा । बाँकेको नरैनापुर गाउँपालिका औलो रोगबाट बढी प्रभावित भएको छ । पछिल्लो समय त्यहाँ औलोका बिरामी बृद्धिभएपछि उच्च सतर्कता समेत अपनाइएको छ ।

चालु आर्थिक वर्षको साउनदेखि माघ मसान्तसम्म नरैनापुरमा ८०  औलोका बिरामी भेटिएको स्वास्थ्य कार्यालय बाँकेका कीटजन्य रोगका ‘फोकल पर्सन’ दुर्गा गौतमले जानकारी दिइन् । यस क्षेत्रमा महिनौँदेखि औलोका बिरामी थपिँदै गएकाले पालिकाको समन्वयमा रगत परीक्षण, कीटनाशक झुल वितरण र सचेतनामूलक अभियान सञ्चालन गरिएको उनले बताइन् ।

उनका अनुसार पालिकाका सबै घरमा कीटनाशक झुल वितरण गरिएको र गर्भवतीलाई विशेष सावधानी अपनाइएको छ । चालु आव २०८०÷०८१ को साउनदेखि माघसम्म नेपालगञ्ज उपमहानगरपालिका, डुडुवामा र राप्तीसोनारी गाउँपालिकामा पाँच ÷पाँच जना, बैजनाथ गाउँपालिकामा एक जनामा औलोका बिरामी भेटिएको फोकल पर्सन गौतमले बताइन् । जिल्लाका बाँके कोहलपुर नगरपालिका, खजुरा र जानकी गाउँपालिकामा औलोका बिरामी शून्य छन् । 

औलोका बिरामी देखिएका पालिकामा विशेष निगरानी गरिएको छ । रोग नियन्त्रण तथा व्यवस्थापनका लागि स्वास्थ्य तथा जनसंख्या  मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको सहयोगमा स्वास्थ्य कार्यालय र स्थानीय तहको संयुक्त पहलमा कीटनाशक झुल वितरण र जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ ।

उनका अनुसार स्थानीय दुई जनामा औलोको लक्षण देखिएपछि रगतको (आरडिटी र माइक्रोस्कोपिक) परीक्षण गर्दा औलो रोग पुष्टि भएको हो । दुई जनामा औलो देखिएपछि पालिकाले वडा नं ४ अन्तर्गतका टोलमा घरधुरी सर्भेक्षण सुरु गरेको जनाएको छ । 

तीन जनाका दरले चार वटा समूहमा १२ जना स्वास्थ्यकर्मी परिचालन गरी घरधुरी सर्भेक्षणसँगै स्वास्थ्य शिक्षा, परामर्श र जानकारी दिने कार्य भइरहेको स्वास्थ्य शाखा प्रमुख शर्माले बताए । स्थानीयलाई ज्वरोलगायतका सामान्य लक्षण देखिने बित्तिकै नजिकको स्वास्थ्य संस्थामा रगतको नमूना परीक्षण गर्न लगाइएको छ । सबै स्वास्थ्य संस्थामा रगत परीक्षणको कार्य निःशुल्क रुपमा व्यवस्था गरिएको छ । 

पालिकाले घरधुरी सर्भेक्षणपश्चात् रोगबाट बच्नका लागि निःशुल्क कीटनाशकयुक्त झुल वितरण गर्ने पालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताए । अध्यक्ष चौधरीले भने, “पालिकाका केही वडामा औलो रोग भेटिएको छ, हामीले थाहा पाउनै बित्तिकै स्वास्थ्यकर्मी परिचालन गरी व्यवस्थापन गरिरहेका छौँ, उक्त रोगविरुद्ध हामी उच्च सतर्कता अपनाएका छौँ ।” 

प्रतिक्रिया दिनुहाेस् :-

याे पनि पढ्नुहाेस् :-