शनि, मंसिर ८, २०८१
Sat, November 23, 2024

प्रधानमन्त्री दाहाललाई विश्वासको मत नदिने राप्रपाको निर्णय

काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत नदिने भएको छ । राप्रपाको केन्द्रीय कार्य सम्पादन समितिको सोमबार सम्पन्न बैठकले नयाँ सत्तारुढ गठबन्धनमा सहभागी नहुने र प्रधानमन्त्री दाहाललाई विश्वासको मत पनि नदिने औपचारिक निर्णय गरेको हो ।

राप्रपाले प्रदेश सरकारहरूमा पनि तत्काल सहभागी नहुने र समर्थन गर्नुपर्ने कुनै अवस्था आएमा सम्बन्धित प्रदेशको परामर्शमा निर्णय गर्ने जिम्मा अध्यक्ष राजेन्द्र लिङ्देनलाई दिएको छ । राप्रपा अध्यक्ष लिङ्देनले भने, ‘राप्रपा वर्तमान सत्ता गठबन्धनमा सहभागी नहुने, जुन कुरा हामीले यो गठबन्धन निर्माणको प्रारम्भमा नै व्यक्त गरिसकेका थियौं । पार्टीले अहिले आधिकारिक रुपमा पनि निर्णय गरेको छ– राप्रपा वर्तमान सत्ता गठबन्धनमा सहभागी नहुने, विश्वासको मत दिने क्रममा विपक्षमा मतदान गर्ने र विपक्षमा बस्ने निर्णय गरेको छ ।’

प्रदेश सरकारमा सहभागी हुने विषयमा कार्यसम्पादन समितिले आफूलाई निर्णय लिने जिम्मेवारी दिएको अध्यक्ष लिङ्देनले जानकारी दिए । ‘प्रदेश सरकारमा पनि तत्काल सहभागी नहुने, समर्थन गर्नुपर्ने परिस्थिति आएमा पार्टी अध्यक्षले उपयुक्त समयमा सम्बन्धित प्रदेशको परामर्श लिएर निर्णय लिने निर्णय गरिएको छ,’ लिङ्देनले भने ।

प्रतिक्रिया दिनुहाेस् :-

याे पनि पढ्नुहाेस् :-