शनि, मंसिर ८, २०८१
Sat, November 23, 2024

दाहाल र भट्टराईको एकतामा ‘ब्रेक’

माओवादीको चुनाव चिह्न लिएर जितेका नेसपाका संघका दुई र प्रदेशका एक सांसद माओवादीमै फर्किने तयारी मैले एकताका लागि अन्तिम चान्स दिएको हो । उहाँ (दाहाल) धेरै पर पुगिसक्नु भएको छ : बाबुराम भट्टराई, अध्यक्ष– नेसपा शीर्ष नेताको व्यस्तताका कारण एकता प्रक्रियाले गति लिएको छैन : अग्निप्रसाद सापकोटा, उपाध्यक्ष– माओवादी केन्द्र

काठमाडौँ — दशवर्षे सशस्त्र द्वन्द्वका ‘डिजाइनर’ प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल र तत्कालीन उपाध्यक्ष बाबुराम भट्टराईबीच पार्टी एकताको ‘च्याप्टर’ करिब अन्त्य भएको छ । एक वर्षमा तीन गठबन्धन फेरेर प्रधानमन्त्री भइसकेपछि दाहालले पार्टी एकताका लागि चासो नराखेको भन्दै भट्टराई आक्रोशित हुँदै एकताको सम्भावना नभएको बताएका हुन् ।

गत संघ निर्वाचनमा पार्टी एकता गर्ने सर्तमा गोरखा २ निर्वाचन क्षेत्र भट्टराईले दाहाललाई छाडेर कार्यकारी भूमिकामा अब नरहने बताएका थिए । निर्वाचन भएको एक वर्षभन्दा बढी समयसम्म दाहाल सत्ताकै खेलमा लागेको भन्दै भट्टराईले एकताको कुरा धेरै टाढा पुगिसकेको बताए । ‘मैले एकताका लागि अन्तिम चान्स दिएको हो । उहाँ (दाहाल) धेरै पर पुगिसक्नु भएको छ,’ उनले कान्तिपुरसँग भने, ‘पोहोर साल उहाँहरु पनि संकटमा हुनुहुन्थ्यो । हामी पनि पार्टी बनाउँदै थियौं । हामीले चुनावी तालमेल गर्न खोजेको थियौं, उहाँले झेल गरेर पार्टी मर्ज गराउने जस्तो गर्नुभयो । त्यो इमानदारी थिएन ।’

गत असारमा गठन भएको समाजवादी मार्चामा समेत आफूलाई सहभागी नगराएको गुनासो भट्टराईले गरेका छन् । ‘पुराना वाम मिलेर समाजवादी मोर्चा बनाऔं भन्ने मेरो अवधारणा थियो । आफ्नो सत्ता गणित मिलाउन एउटा कार्टुनजस्तो समाजवादी मोर्चा बनाउनुभयो,’ भट्टराईको भनाइ छ, ‘उहाँको इमानदारीतामा समस्या देखियो ।’

दाहालले असारमा घोषणा गरेको समाजवादी मोर्चामा आफूलाई नसमेटेपछि भट्टराई टाढिएका थिए । त्यसपछि दाहालले उनीसँग संवाद गरी एकता प्रक्रिया अघि बढाएका थिए । पार्टी एकताका लागि दाहाल र भट्टराई आफैं संयोजक बने । तर, एकताका दाहालले रुचि नदेखाएपछि भट्टराईले गोरखा केन्द्रित राजनीतिक गतिवधि तीव्र पारेका छन् । नेसपाका केन्द्रीय सदस्य विश्वदीप पाण्डेले ०८४ को निर्वाचनमा भट्टराई गोरखा २ बाट उम्मेदवार बन्न तयार रहेको बताए । ‘गोरखा पुग्दा आगामी निर्वाचनमा उम्मेदवार बन्न मतदाताले आग्रह गरेका छन्, उहाँले स्विकार गर्नुभएको छ,’ उनले भने ।

फागुन २२ मा भट्टराईले गत निर्वाचनमा माओवादीको चुनाव चिह्न लिएर निर्वाचित जनप्रतिनिधिलाई माओवादीबाट हटाएर नेपाल समाजवादी पार्टीको नाममा अभिलेखमा राख्न पत्र लेखेका थिए । नेपाल समाजवादीमा रहेर माओवादीको चुनाव चिह्न लिएर संघमा दुई र प्रदेशमा दुई सांसद निर्वाचित भएका छन् । संघमा सर्लाही २ बाट महिन्द राय यादव, वाग्मती प्रदेशमा सिन्धुली २ (२) बाट गंगानारायण श्रेष्ठ र गोरखा २ (२) बाट फणिन्द्र देवकोटा निर्वाचित भएका थिए । संघको समानुपातिकमा उमरावती देवी निर्वाचित भएकी छन् ।

सांसद रायले आफू माओवादीमै रहने पत्र संसद् सचिवालयलाई पठाएका छन् । त्यस्तै वाग्मती सकारमा आन्तरिक मामिलामन्त्री गंगानारायाण श्रेष्ठले पनि आफू माओवादीमै रहने बताउँदै आएका छन् । वाग्मतीका सांसद देवकोटा भने नेपाल समाजवादी पार्टीमै रहने तयारीमा छन् ।दाहाल र भट्टराईबीच दूरी बढ्दै जाँदा माओवादी चुनाव चिह्न लिएर निर्वाचित सांसदहरुलाई माओवादीकै ह्वीप लाग्ने भएकाले चार सांसदमध्ये तीन माओवादीमै रहने मनस्थितिमा छन् ।

नेसपा सहअध्यक्ष समेत रहेका सांसद महिन्द्र राय यादवले भने माओवादीसित पार्टी एकता हुने दाबी गरे । ‘माओवादीले विशेष महाधिवेशनबाट पार्टी एकताका लागि नाम र चुनाव चिह्न टुंगो लाग्छ, त्यसपछि पार्टी एकता हुन्छ,’ उनले भने, ‘प्रधानमन्त्री प्रचण्ड र भट्टराईजी पार्टी एकता संयोजक भएकाले प्रक्रिया अघि बढ्छ ।’ राय यसअघि खानेपानी मन्त्री थिए । भट्टराई र रायबीच माओवादीसँग एकता गर्नेबारे मतभेद छ ।

माओवादी उपाध्यक्ष अग्निप्रसाद सापकोटाले माओवादी र नेसपाबीच एकता गर्ने सैद्धान्तिक सहमति भए पनि गति लिन नसकेको बताए । ‘कम्युनिस्टहरु एक ठाउँमा उभिनुपर्छ भन्ने मान्यता हो,’ उनले भने, ‘व्यस्तताका कारण एकता प्रक्रियाले गति लिएको छैन ।’

स्रोतका अनुसार नेसपाभित्र माओवादीसँग एकता गर्ने/नगर्नेबारे दुई खेमा छ । वाग्मती प्रदेश सांसदबाहेक अरु तीन जना जसरी पनि पार्टी एकता गर्नुपर्ने, नगरे माओवादीमा प्रवेश गर्ने तयारी गरेका छन् । ‘संघ र प्रदेश सांसद (राय, देवी र श्रेष्ठ) नेसपा विभाजन गरी माओवादीसँग पार्टी एकता गर्ने तयारी गरेका छन्,’ नेसपाका एक नेताले भने, ‘सकेसम्म बाबुराम पनि एकतामा आए राम्रो हुन्छ भन्ने हो । उहाँ आउनु भएन भने निर्वाचित सांसद पद छाड्न सकिंदैन ।’ झन्डै साढे दुई दशक एउटै पार्टीमा रहेका दाहाल र भट्टराईले २०७२ असोज ९ मा फरक–फरक बाटो लिएका थिए ।

दाहालले नेतृत्व गरेको माओवादी र भट्टराईले नेतृत्व गरेको नयाँ शक्ति हुँदै नेपाल समाजवादी पार्टी (नेसपा) कमजोर हुँदै गएपछि निर्वाचनअघि पुनः एक ठाउँमा उभिने समझदारी गरेका थिए । निर्वाचनअघि भएको वार्तामा पार्टीको नाम ‘नेकपा समाजवादी’ राख्ने र वैचारिक नीति निर्माण, योजनाको जिम्मा भट्टराईले लिने, कार्यकारी भूमिकामा दाहाल रहनेसम्म कुराकानी भएको थियो । पछिल्लो समय दाहाल र भट्टराईबीच संवाद भएको छैन ।

दाहाललाई सशस्त्र युद्धदेखि हालसम्म ‘बाबुराम फोबिया’ कायम रहकाले पार्टी एकतामा रुचि नदेखाएको टिप्पणी गरे । ‘पार्टी एकता गरेपछि बाबुराम पनि शक्तिकेन्द्र हुने डर प्रचण्डलाई छ,’ ती नेताले भने, ‘एउटै पार्टीमा भएपछि प्रचण्डलाई बाबुरामको नीति विचार सुन्नुपर्ने छ । हाल प्रचण्डलाई प्रश्न गर्ने नेता कोही छैनन् ।’

माओवादीमा दोस्रो नेताको रुपमा रहेका भट्टराई दाहालसँग लामो संघर्षपछि ०६८ असोजमा प्रधानमन्त्री बने । उनी १२ देखि ०६९ फागुन ३० सम्म प्रधानमन्त्री रहँदा दाहाल पार्टी अध्यक्ष थिए । एउटै पार्टीमा रहँदा दाहालले भट्टराईलाई भारतप्रति नरम रहेको आरोप लगाउँथे । भट्टराईले दाहाललाई ठोस विचार नभएको नेताका रुपमा चित्रण गर्थे ।

निर्वाचन माओवादीले उपाध्यक्ष कृष्णबहादुर महरा र नेसपाले गंगानारायण श्रेष्ठको संयोजकत्वमा वार्ता समिति बनाएको थियो । चुनाव लगत्तै एकता गर्ने तयारी भए पनि एक वर्षभन्दा पर धकेलिएको छ । माओवादीका एक नेताले माओवादी र नेसपाबीच एकता हाललाई टरेको बताए । ‘कारणचाहिँ थाहा छैन, हाललाई पार्टी एकता टरेको छ,’ ती नेताले भने, ‘सैद्धान्तिक मतभेद खास छैन । प्रचण्ड र बाबुरामबीच इगोको कारण एकता टरेको हो ।’

फागुन पहिलो साता भएको विधान सम्मेलनमा प्रधानमन्त्री एवं अध्यक्ष दाहालले पार्टीको नामबाट माओवादी हटाउन सकिने भए पनि कम्युनिस्ट पार्टी भने कायम राख्ने बताएका थिए । उनले विधान अधिवेशनमा नेकपा राखेर समाजवादी, वाममोर्चा राख्न विकल्प खुला राख्ने गरी प्रस्ताव राखेका छन् । ‘नेपाल कम्युनिस्ट पार्टी कहिल्यै पनि छाड्न सकिन्नँ । वाम मोर्चा, समाजवादी मोर्चा, एकता इत्यादि हुँदा पछाडि पुच्छरबारे छलफल गर्ने विकल्प खुला राख्न सकिन्छ,’ उनको भनाइ थियो ।

हाल पार्टीको चुनाव चिन्ह भने नफेरिने दाहालको भनाइ थियो । हाल पार्टीको नाम फेर्न खुला राखे पनि तत्काल पुरानै राखिने भएको छ । ‘अहिले नाम यथावत् राख्ने र चुनाव चिह्न पनि यथावत् राख्नुपर्छ,’ उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहाेस् :-

याे पनि पढ्नुहाेस् :-