विश्वमा क्रान्तिद्वारा स्थापित कम्युनिस्ट सत्ताहरू धमाधम ढलिरहेको र कम्युनिस्ट आन्दोलन रक्षात्मक भएको अवस्थामा मदन भण्डारी छोटो अवधिमा उदाएर छोटै अवधिमा अस्ताएको तीन दशक पुगेको छ । २०५० जेठ ३ गते चितवनको दासढुंगामा रहस्यमय दुर्घटनामा मारिनुअघिको खुला राजनीतिमा मदन भण्डारी जुन चर्चामा रहनुभयो, आज पनि कम्युनिस्ट आन्दोलनभित्रका बहसहरूमा त्यत्तिकै केन्द्रमा हुनुहुन्छ ।
मार्क्सवादको सिर्जनात्मक प्रयोग हरेक देशले आफ्नो अनुकूल गर्नुपर्छ भन्ने मान्यताका आधारमा नेपालको मौलिक परिस्थिति अनुसार त्यसलाई जनताको बहुदलीय जनवादमार्फत संश्लेषण गरेर वास्तवमा मदन भण्डारीले नेपालको कम्युनिस्ट आन्दोलनलाई पुनर्जीवन दिनुभएको थियो भन्ने कुरा यस अवधिमा प्रमाणित भएको छ । हतियारबन्द आन्दोलन नै कम्युनिस्टहरूको एकमात्र बाटो हो भन्ने भाष्यमाथि जबर्जस्त र प्रभावकारी हस्तक्षेप गर्दै जनताका बीचमा जाने र जनताले निर्धारण गरिदिएको स्थानमा बसेर जनताको विश्वास जित्न कोसिस गर्ने कुरालाई मदन भण्डारीले जनताको बहुदलीय जनवाद मार्फत सिद्धान्तकृत गर्नुभएको थियो । जो कम्युनिस्ट वर्तमानमा उभिन चाहन्छन् र भविष्यका लागि केही चाहन्छन्, तिनका लागि यसबाहेक अर्को कुनै बाटो छैन ।
हरेक देशका कम्युनिस्टहरूले यस आन्दोलनलाई बलियो बनाउन आफ्नो मुलुक अनुकूलका प्रयोगहरू गरेर अघि बढ्दा मात्रै सफलता पाएका छन् । क्रान्तिकै कुरा गर्दा मजदुरमा आधारित भएर जसरी सन् १९१७ मा रूसी जनवादी क्रान्ति सम्पन्न भयो, त्यसरी सन् १९४९ मा चीनमा क्रान्ति सम्पन्न भएन । उत्तरकोरिया, क्युबा, भियतनाम र लाओसका आफ्नै शैली रहे र त्यही मौलिकताका कारण तिनीहरू आजपर्यन्त टिकिरहेका छन् ।
नेपालमा पनि हामीले चीन वा रूसको नक्कल गरेको भए यो आन्दोलन उहिल्यै विसर्जनको दिशामा गइसक्ने थियो । छेउमै भारतको पश्चिम बंगालमा नक्सलाइटहरूको असफलतालाई नजिकबाट देखेको र त्यहीं भाकपा (मार्क्सवादी)को राजनीतिलाई पनि हेरेको हुनाले नेपाली क्रान्तिको बाटो चयन गर्न सम्भवतः मदन भण्डारीलाई व्यावहारिक रूपमा गाह्रो भएन । तर, जडताबाट गुज्रिएको कम्युनिस्ट आन्दोलनलाई त्यसबाट बाहिर ल्याउनका लागि सानोतिनो हिम्मत र मिहिनेतले सम्भव थिएन, जुन मदन भण्डारीको विराट प्रतिभाशाली व्यक्तित्वका कारण सम्भव हुन पुगेको थियो ।
कुनै बेला ‘राज्यसत्ता बन्दुकको नालबाट निस्किन्छ’ भन्ने माओको उक्तिलाई आदर्श मानेर बन्दुक बोकेर राज्यसत्ता कब्जा गर्न हिंडेको माओवादी १० वर्षमा थाकेर मदन भण्डारीले देखाएकै बाटोमा आइपुग्नुले यसको सान्दर्भिकता थप पुष्टि गर्दछ । नेकपाकालमा पुष्पकमल दाहालले बारम्बार आफ्नो मदन भण्डारीसँग भेटघाटको मिति तय भए पनि भेट हुन नपाउँदै दुर्घटना भएका कारण पर्याप्त छलफल हुन नपाएको र छलफल भएको भए ‘जनयुद्ध‘ नै गर्नुपर्ने थिएन भन्ने गरेको सार्वजनिक अभिलेखमै छ ।
मदन भण्डारीले अघि सारेको र नेकपा (एमाले) ले मार्गदर्शक सिद्धान्त मानेकाले जस्तो तस्तै स्वीकार्न गाह्रो माने पनि एमालेसँग एकता हुँदा माओवादीले जनताको बहुदलीय जनवादको रूप र सार दुवै स्वीकार गरेको दस्तावेज सुरक्षित छन् ।
जतिसुकै लामो चक्कर लगाए पनि, बन्दुकका बलमा जनमत बटुलेर अलिकति आकार बढाए पनि र पृथक् हौं भनेर बल लगाए पनि माओवादी अन्ततः मदन भण्डारीले २०४९ सालमा खनेको जनताको बहुदलीय जनवादको राजमार्गमै आइपुगेको छ ।
विश्वमा कम्युनिस्ट आन्दोलन ओरालो लागेको बेला नेपालमा उकालो लाग्नुको निःसन्देह श्रेय मदन भण्डारीलाई जान्छ । कहिलेकाहीं लाग्छ– मदन भण्डारी नेपालको साटो चीन, रूस वा युरोपमा जन्मेको भए उहाँको व्यक्तित्व कसरी निर्माण हुन्थ्यो होला ? उहाँ सानो देशमा जन्मेका कारण सम्भवतः हामीले विश्वका अरू कम्युनिस्टहरूलाई त्यति प्रभावित गर्न सकेनौं, जति उनीहरूका विचारबाट हामी प्रभावित हुन्छौं । यदि उहाँमा केही विशिष्ट विशेषता हुँदैनथ्यो भने दुई विशाल भूगोलको बीचमा बल गरेर खोज्नुपर्ने नेपालमा आएर अमेरिकी पत्रिका ‘न्युजविक’ ले २७ मे, १९९१ मा ‘इन नेपाल, कार्ल मार्क्स लिभ्स्’ अर्थात् ‘नेपालमा कार्ल मार्क्स जीवित छन्’ भनेर अन्तर्वार्ता छाप्ने थिएन ।
हालै चीनमा आयोजित १५ दिन लामो ‘वर्कसप फर थ्यौरिटिकल क्याडर्स अफ वल्र्ड कम्युनिस्ट पार्टीज्’ नामक कार्यक्रममा नेकपा (एमाले) का तर्फबाट मैले जनताको बहुदलीय जनवादको विकास, प्रयोग र विश्वव्यापी प्रभावका बारेमा २० देशका कम्युनिस्ट पार्टीका प्रतिनिधिहरूसँग अन्तरक्रिया गर्न पाएको थिएँ । अफ्रिका, ल्याटिन अमेरिका, युरोप र एशियाका ती पार्टीहरूमध्ये कतिलाई नेपालमा हामीले गरिरहेको प्रयोगका बारेमा थाहै छैन भने कतिपयले आ–आफ्नो देशमा त्यस्तै प्रयोेग गरेर पनि सफलता पाउन सकेका छैनन् ।
चुनावमा त युरोपका कम्युनिस्टहरू पनि गइरहेका छन्, एशियाका अरू देशका पार्टीहरूले पनि भाग लिइरहेका छन् तर उनीहरूले सफलता किन पाइरहेका छैनन् त ? मदन भण्डारी यहींनेर अरू सबैभन्दा अग्लो देखिनुहुन्छ । कुनै विचार व्यक्त गर्नु एउटा कुरा हो तर जसरी गणितको सूत्र हो भने हिसाब–किताबमा सही सावित हुनुपर्छ, रसायनशास्त्रको सूत्र हो भने प्रयोगशालामा सही परिणाम आउनुपर्छ, त्यसैगरी राजनीतिक सिद्धान्त हो भने समाजमा त्यसको परीक्षण भएर सही सावित हुनुपर्छ ।
युरो कम्युनिज्मका नाममा चुनावमा जाने विचार कम्युनिस्ट आन्दोलनमा नआएको होइन तर कुनै ठाउँमा पनि त्यसको सफल प्रयोग भएन । मदन भण्डारीको अरूभन्दा फरक यही अर्थमा देखिनुहुन्छ– विचार पनि ल्याउनुभयो, प्रयोगमा पनि सफलता प्राप्त भयो । त्यही कारण आज अनेक चुनौती र टुटफुटका बाबजुद नेपालमा कम्युनिस्टहरूको जनमत घटेको छैन, बढिरहेको छ ।
७५ वर्षदेखि निरन्तर सत्तामा रहेका चिनियाँ कम्युनिस्टहरूको अनुभव चाहिं फरक छ । जुन वर्ष चीनमा माओको नेतृत्वमा नयाँ जनवादी क्रान्ति सफल भयो, त्यही वर्ष स्थापना भएको नेपाल कम्युनिस्ट पार्टीले हासिल गरेका सफलताका बारेमा उनीहरू बेखबर हुने कुरा त भएन तर क्रान्तिबाट स्थापित सत्ता चलाइरहेको पार्टी भएका कारण उनीहरूका र हाम्रा अनुभवहरू अवश्य फरक छन् ।
त्यति हुँदाहुँदै पनि आफ्नो देश अनुकूल मार्क्सवादलाई सिर्जनात्मक प्रयोग गर्नुपर्छ भन्नेमा चाहिं उनीहरू स्पष्ट छन् । त्यही भएर उनीहरूले यस ७५ वर्षको अवधिमा माओत्सेतुङ थट, देङ स्याओपिङ थ्यौरी, थ्यौरी अफ थ्री रिप्रिजेन्ट्स, साइन्टिफिक आउटलुक अन डेभलपमेन्ट हुँदै अहिले ‘नयाँ युगका लागि चिनियाँ विशेषता सहितको समाजवादका सम्बन्धमा सी चिन फिङ विचारधारा’ (सी चिन फिङ थट अन सोसलिज्म विथ चाइनिज क्यारेक्टरिस्टिक फर अ न्यु एरा) अघि सारेका छन् । सी विचारधाराले चिनियाँ राज्य व्यवस्थाको लोकतन्त्रीकरण गर्ने अभ्यासका रूपमा नयाँ कार्यक्रम अघि सारेको छ— होल–प्रोसेस पिपुल्स डेमोक्रेसी अर्थात् समग्र–प्रक्रियायुक्त जनताको जनवाद ।
६ जना प्रधानमन्त्री, राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, मुख्यमन्त्री जस्ता प्रमुख पदहरूमा निर्वाचनबाट कम्युनिस्टहरू पुग्ने कुरा सामान्यतः अन्यत्र कतै कल्पना गर्न सकिंदैन । मदन भण्डारीले अघि सारेको विचारका कारण मात्रै नेपालमा यो सम्भव भएको हो ।
मैले रेन्मिङ र सुचाओ विश्वविद्यालयहरूमा आयोजित कार्यशालाहरूमा सी चिन फिङद्वारा अघि सारिएको ‘होल–प्रोसेस पिपुल्स डेमोक्रेसी‘ (डब्लुपीपीडी) र मदन भण्डारीद्वारा अघि सारिएको ‘पिपुल्स मल्टी पार्टी डेमोक्रेसी’ (पीएमपीडी) लाई तुलना गर्दै क्रान्तिपछिको चीनमा मदन भण्डारी भएको भए र क्रान्तिअघिको नेपालमा सी चिन फिङ भएको भए कस्तो विचार अघि सार्नुहुन्थ्यो होला भनेर बहस गरेको थिएँ ।
सायद, क्रान्ति सम्पन्न भइसकेको अहिलेको चीनको अवस्थामा मदन भण्डारी भएको भए स्वाभाविक रूपमा उहाँको ध्यान क्रान्तिपूर्व के गर्ने र कसरी समाजमा स्थापित हुने भन्नेमा खर्च गर्नुपर्ने थिएन भने क्रान्ति सम्पन्न नभएको नेपालको अवस्थामा सी चिन फिङ भएको उहाँको ध्यान चाहिं कसरी क्रान्ति सम्पन्न गर्ने र त्यसका लागि जनतामा कसरी स्थापित हुने भन्नेमा खर्च गर्नुपथ्र्यो ।
चिनियाँ कम्युनिस्ट पार्टीको गत २०२२ अक्टोबर १६–२२ मा सम्पन्न २०औं राष्ट्रिय महाधिवेशनद्वारा पारित दस्तावेजमा डब्लुपीपीडीको विस्तृत व्याख्या गर्दै चीनका आधारभूत तहबाट स्थानीय, प्रान्तीय र केन्द्रीय जनसंसद्मा प्रतिनिधि चयन गर्दा निर्वाचनको प्रक्रिया कडाइका साथ अवलम्बन गर्ने उल्लेख गरिएको छ । चीनमा क्रान्ति सम्पन्न भइसकेको छ र त्यहाँ कम्युनिस्ट पार्टीको शासनअन्तर्गत यी कामहरू अघि बढ्दैछन् भने नेपालमा कम्युनिस्ट क्रान्तिभन्दा पहिले बहुदलीय व्यवस्थामा काम गर्दा समाजमा भएका सबै दलसँग प्रतिस्पर्धा गरेर श्रेष्ठता हासिल गर्ने कुरा मदन भण्डारीले ३१ वर्ष पहिले अघि सार्नुभएको थियो । यस अर्थमा डब्लुपीपीडी र पीएमपीडीले आधारभूत रूपमा अंगीकार गर्न खोजेको सार एउटै छः जनताबाट निर्वाचित भएर मात्रै उनीहरूमाथि शासन गर्ने अधिकार प्राप्त हुन्छ ।
सन् १९९० पछि नेपाल बाहेक कुनै पनि मुलुकमा कम्युनिस्ट आन्दोलनको विकास र विस्तार सकारात्मक रूपमा भएको छैन । निर्वाचनमा भाग लिएर लोकप्रिय जनमत प्राप्त गर्ने र सरकारमा जाने घटना अरू कुनै मुलुकमा भएकै छैनन् । आर्थिक–सामाजिक रूपान्तरणका काम पर्याप्त मात्रामा भए वा भएनन्, अलग्गै बहस गर्नुपर्छ । तर, कम्युनिस्ट पार्टीलाई समाजमा स्थापित गर्ने, प्रतिस्पर्धी बनाउने, जनताको विश्वास जित्ने र सरकार बनाउने काममा नेपाल एकमात्र उदाहरणका रूपमा स्थापित छ ।
६ जना प्रधानमन्त्रीका साथै राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, मुख्यमन्त्री जस्ता राज्यका प्रमुख पदहरूमा निर्वाचनबाट कम्युनिस्टहरू पुग्ने कुरा सामान्यतः अन्त कतै कल्पना गर्न सकिंदैन । मदन भण्डारीले अघि सारेको विचारका आधारमा कम्युनिस्ट आन्दोलन जोगिन सक्दा मात्रै नेपालमा यो सम्भव भएको हो ।
सन् १९७५ मा लाओसमा सशस्त्र क्रान्तिले सफलता पाएपश्चात्को करिब आधा शताब्दीमा विश्वमा अर्को कुनै सशस्त्र क्रान्ति भएको छैन । जहाँ–जहाँ हतियार उठाए, त्यहाँ–त्यहाँ कम्युनिस्टहरूको दुःखान्त भएको छ । नेपालमा चाहिं तत्कालीन राज्यसत्तासँग नभएर विपक्षमा रहेका राजनीतिक दलहरूसँग सम्झौता गरेको र शान्तिपूर्ण आन्दोलनका माध्यमबाट तत्कालीन राज्यसत्ता परिवर्तन भएका कारण माओवादी कम्युनिस्टहरूको सहज अवतरण भएको हो ।
जतिसुकै लामो चक्कर लगाए पनि, बन्दुकका बलमा जनमत बटुलेर अलिकति आकार बढाए पनि र पृथक् हौं भनेर बल लगाए पनि माओवादी अन्ततः मदन भण्डारीले २०४९ सालमा खनेको जनताको बहुदलीय जनवादको राजमार्गमै आइपुगेको छ ।
संसारका सबै कम्युनिस्टहरूले अब सशस्त्र क्रान्तिको युग सकियो भनेर घोषणा गर्दा हुन्छ । समाजमा नयाँ–नयाँ परिघटना विकास भइरहेका छन्, मानिसका क्षमता र अपेक्षाहरू वृद्धि भइरहेका छन् । यतिसम्म कि कामका बदलिएका स्वरुप र प्रकृतिका कारण परम्परागत वर्गको परिभाषामै पुनर्विचार गर्नुपर्ने अवस्था सिर्जना भएको छ ।
सोभियत संघ र पूर्वी युरोपका समाजवादी राष्ट्रहरू यस्ता थिए भनेर अतीतमुखी भएर अब कम्युनिस्ट आन्दोलन अघि बढ्न सक्दैन, न त मार्क्स–लेनिन–माओलाई उद्धृत गरेर नै आजको मनोविज्ञानको प्रतिनिधित्व गर्न सकिन्छ । नयाँ प्रश्नहरू उब्जिसकेपछि दस्तावेजहरूमा पुराना उत्तर खोजेर अघि बढ्न सकिंदैन ।
सीमा जोडिएका भारत र नेपालका कम्युनिस्टहरूबीच तुलना गर्दा पुग्छः कम्युनिस्ट आन्दोलन कसरी धरासायी हुन्छ र कम्युनिस्ट आन्दोलन कसरी उँभो लाग्छ । आज भारतमा कम्युनिस्ट पार्टीहरू जमानत जोगाउन सक्ने अवस्थामा छैनन् र वर्षौंदेखि उपभोग गरिरहेको राष्ट्रिय पार्टीको मान्यता पनि गुमाउन बाध्य छन् ।
निर्वाचनमा जानु, निर्वाचनदेखि निर्वाचनसम्मको गोलचक्करमा फस्नु, सरकार बनाउनु वा प्रतिपक्षमा बस्नु मात्रै जनताको बहुदलीय जनवाद होइन, मदन भण्डारीको परिकल्पना होइन । मानिसमा, समाजमा र प्रकृतिमा रहेको विविधता अर्थात् बहुलतालाई स्वीकार गर्दै त्यसका आधारमा कम्युनिस्ट पार्टीलाई प्रतिस्पर्धी बनाएर मात्रै बचाउन सकिन्छ भन्ने मान्यताका कारण मदन भण्डारी भौतिक रूपमा जीवित नरहे पनि नेपालको प्रतिस्पर्धी कम्युनिस्ट आन्दोलनमा जीवित रहनुभएको छ ।