बुध, मंसिर १२, २०८१
Wed, November 27, 2024

इलाममा गुञ्जदै नेपथ्य

काठमाडौँ — लोकप्रिय ब्यान्ड नेपथ्य चैत ३ मा इलामको सुर्योदय नगरपालिका अन्तर्गतको करफोकस्थित सल्लाघारीले घेरिएको पाखामा गुञ्जदैछ ।

सात दशकअघि यही ठाउँमा कविशिरोमणि लेखनाथ पौड्याल, महाकवि लक्ष्मीप्रसाद देवकोटा, नाटककार बालकृष्ण सम, महानन्द सापकोटा, धरणीधर कोइराला, सूर्यविक्रम ज्ञवाली र शंकर लामिछानेलगायतका साहित्यकारको उपस्थितिमा ‘पहिलो अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन’ भएको थियो ।

नेपथ्य यही पाखोको कमरफोक विद्यामन्दिर परिसरको मैदानलाई कन्सर्टका लागि रोजेको हो । यो मैदानमा वर्षेनी राष्ट्रिय स्तरको फुटबल प्रतियोगिता हुँदै आइरहेको छ । ‘राजमार्ग भएर गुज्रँदा वरिपरि चियाबारी, सल्लाघारी र वनजंगलले घेरिएको पूर्वी पहाडकै यस लोभ्याउने पाखामा एकपटक आफुलाई प्रस्तुत गर्ने इच्छा धेरै पहिलेदेखिको हो,’ नेपथ्य अगुवा अमृत गुरुङले भने,’यसपटक इलामका साथीहरुले जोग मिलाइदिनुभएकोमा असाध्यै खुसी लागेको छ ।’

नेपथ्यले मुलुकका स–साना गाउँवस्ती हुदै विश्वका ठूला सहरहरुसम्म आफुलाई प्रस्तुत गर्दै आइरहेको छ । नेपालमा हालसम्म करिव १ सय २० कन्सर्ट आयोजना गरिसकेको ब्याण्डले नेपालबाहिर विश्वका १७ मुलुकको ४१ वटा मुख्य सहरमा ८० भन्दा बढी साङ्गेतिक प्रस्तुति दिइसकेको छ । चैत ३ हुने यो कन्सर्ट इलामकै न्युपी थर्पा छोलिङ गुम्बाको सहयोगार्थमा आयोजना हुन लागेको हो ।

प्रतिक्रिया दिनुहाेस् :-

याे पनि पढ्नुहाेस् :-